(नियम ६सँग सम्बन्धित)
१. सैनिक प्राड सेवाको खुल्ला प्रतियोगिता द्वारा उपसेनानी र जमदार पदमा उम्मेदवार हुन देहाय बमोजिम योग्यता पुगेको हुनुपर्नेछः–
(क) नेपाली नागरिक,
(ख) उपसेनानी पदको लागि आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई पुरुषको हकमा उनन्तीस वर्ष र महिलाको हकमा तीस वर्ष ननाघेकोर जमदार पदको लागि अठार वर्ष पूरा भई पच्चीस वर्ष ननाघेको, तर नेपाली सेनामा कार्यरत योग्यता पुगेका सैनिक व्यक्तिले पैतीसवर्ष उमेर पूरा नभएसम्म बढीमा तीन पटक आवेदन दिन सक्नेछ ।
(ग) पुरुषको हकमा उचाई कम्तीमा ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च र फुलाउँदा ३४ इन्च, वजन ५० के.जी. (११० पौण्ड) भएको र महिलाको हकमा उचाई कम्तीमा ५ फिट र वजन ४० के.जी. (८८ पौण्ड) भएको,
(घ) बि.एम.आई. र स्वास्थ्य परीक्षणबाट योग्य ठहरिएको,
(ङ) आँखा +२ भन्दा बढी कमजोर नभएको,
(च) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,
(छ) तत्काल कुनै राजनैतिक दलको सदस्य नभएको वा नरहेको,
(ज) कुनै आपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको,
(झ) कुनै विध्वंसात्मक उद्देश्य भएको संघ संस्थाको सदस्य नभएको वा नरहेको,
(ञ) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको,
(ट) मानव अधिकार र मानवीय कानून उल्लंघन वापत सजाय नपाएको,
(ठ) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको ।
२. सैनिक प्राड सेवाको आन्तरिक प्रतियोगिताद्वारा बढुवा हुने उपसेनानी पदमा उम्मेदवार हुन देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछः–
(क) बि.एम.आई. योग्य र स्वास्थ्य वर्गीकरण एमइडिडिआइसिसिओएस–जी दुई वा सो भन्दा कम भएको,
(ख) शारीरिक तन्दुरुस्ती परीक्षा (बि.एफ.टि.) उत्तीर्ण गरेको,
(ग) युनिटपतिको सिफारिस भएको ।